सेप्टेम्बर 04 – परमेश्वरसँग शान्ति

“यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ।” (रोमी 5:1)

परमेश्वर सँग शान्तिमा रहन सक्नु एक ठूलो उपलब्धि हो। जब तपाईं परमेश्वरसँग मेल मिलाप गर्नुहुन्छ, र उहाँसँग शान्तिमा रहनुहुन्छ भने जीवनका अन्य सबै समस्याहरू एकदम झिनो मसिनो र नगन्य लाग्दछन्। केवल ख्रीष्ट येशू द्वारा मात्र हामी परमेश्वरकहाँ पुग्न सक्छौँ र उहाँ सँग मिलापमा रहन सक्छौँ।

जब कुनै दुई व्यक्ति बीच बाद – विवाद या झै झगडा भइरहेको छ भने अर्को तेस्रो व्यक्ति आएर झगडा मिलाउने र दुवैलाई सम्झाई बुझाइ गर्ने प्रथा छ। यस्ता शान्ति दाता हरुले ति दुई व्यक्ति या ति दुवै परिवारबीच शान्ति कायम गर्न मदत गर्छन् र जो सहमतिमा छन् उनीहरुमा सद्भाव उत्पन्न गराउँछन्। मिलाप र शान्ति ल्याउनको लागि यस्ता मध्यस्थको आवश्यकता पर्दछ।

अदनको बगैंचामा आदम र हव्वा ले पाप गरेर परमेश्वरको मन दुखाए। जब आदम र हव्वाले परमेश्वरको वचन नसुनी सर्पको आवाज सुने र पाप गरे, यसले परमेश्वरको हृदय साह्रै दुःखित भयो। यस प्रकारको पापको परिणाम स्वरूप मानिसले परमेश्वर सँगको संगति र प्रेमपूर्ण सम्बन्धलाई गुमायो। सबैभन्दा ठूलो कुरा त उसले आफ्नो शान्ति गुमायो।

परमेश्वर सँग मेल मिलाप गर्न र उहाँसँग शान्तिमा रहन तपाईंले सबैभन्दा पहिले आफ्ना पापहरूको पश्चाताप गर्नु, उहाँलाई ग्रहण गर्नु र आफ्ना पापहरु क्षमा पाउनु आवश्यक छ। पाप कसरी क्षमा हुन्छ त? लेखिएको छ कि रगत नबगाइकन पापको क्षमा हुनु हुँदैन। त्यसै कारण येशू ख्रीष्ट स्वयं क्रूसमा चढ्नुभयो र हाम्रा सबै पाप र अपराधका दागहरुलाई मेटाउन आफ्नो बहुमूल्य रगत बगाउनुभयो।

मिलाप र शान्ति गराउनको लागि येशू हाम्रो र परमेश्वर को बीचमा मध्यस्थ पनि हुनुहुन्छ। उहाँ त्यस व्यक्तिलाई अनुग्रहको सिंहासन सम्म डोर्याउनु हुन्छ जसका पापहरु धोइएका छन् । उहाले मानवजातिको निम्ति बगाएको आफ्नो बहुमूल्य रगतद्वारा त्यस ब्यक्ति लाई परमेश्वरसँग मेल मीलापमा ल्याउनुहुन्छ।

यो त्यही सत्यता हो जसले मार्टिन लुथर को जीवन परिवर्तन गरायो। यो भन्दा पहिले उनी पिता परमेश्वरलाई एक धर्मी र न्याय गर्ने परमेश्वरको रूपमा मात्र चिन्दथे, तर जब उनले येशू ख्रीष्टलाई मध्यस्तको रूपमा चिने र यो वचनलाई भेटे जहाँ लेखिएको छ “धर्मी चाहिँ विश्वास द्वारा जिउँछ” उनी एकदम खुशी भए।

येशू ख्रीष्ट त्यो पुल  हुनुहुन्छ जुन पुलले मानिसलाई परमेश्वरसँग जोड्दछ, जसरी एउटा पुलले दुईवटा पहाडको बीचको खोल्चालाई जोड्दछ। परमेश्वरका प्रिय छोराछोरीहरू, येशू ख्रीष्टको बहुमूल्य रगतद्वारा परमेश्वरसँगको आफ्नो मिलाप लाई लिएर निश्चिन्त हुनुहोस्।

मनन गर्नका लागि:  “यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्‍वरसँग मिलाप प्राप्‍त भएको छ।” (रोमी 5:11)

Article by elimchurchgospel

Leave a comment